राजधानीदेखि रारासम्म
काठमाण्डौ विश्वविद्यालयको (Computer Science) तेस्रोवर्ष को स्नातक तहको सेमेस्टर बिदामा हामी २५ जनाको टोलिले यसपाली नेपालको मध्यपश्चिममा अवस्थित राराताल को भ्रमण गर्ने निधो गर्यौ। बसन्त ऋतुको आगमनले होला वातावरणले पनि निकै साथ दिएको महसुस हामीले गरेका थियौ। करीब हप्तादिन भ्रमणको घुम्ने योजनार तालिका तय गरेपछि हामी बैशाख ५ मा राजधानीबाट,मुगुको (हुटु) मा पर्ने राराताल को लागि अगाडी बढ्छौ।
कसरी र कहाँ बाट जान सकिन्छ त रारा ताल ?
सामान्य जसो राराको लागि नेपालगंज बाट ताल्चा (मुगु) को हवाईयात्रा नै प्रचलित एवं सजिलो मार्ग हो । ताल्चा बाट ३-४ घण्टा को पैदलयात्रापछि तालमा पुगिन्छ। तर हामी स्थल मार्गबाट जाने भएकाले, रिजर्भ गाडी लिएर गएका थियौँ । पछिल्लो समय हवाईमार्ग भन्दा बढी बस,बाईक,निजि सवारीबाट हुटू(रारा) पुग्नेको संख्या ह्वात्तै बढेको स्थानिय बाट जानकारी भयो र हामीले देख्यौ पनि । आजकल निजी कम्पनीहरुले पनि रारा भ्रमणको प्याकेज सुरु गरेका रहेछन । जुनबाटो भएर गएपनि निकुन्ज भित्र सवारी निषेध गरिएकोले २-३ घण्टा हिड्नु पर्दोरहेछ, जुन घुमफिरको बेग्लै मज्जा नै हो ।
ताल सम्बन्धि छोटो जानकारी
इतिहास
वि. स. २०२० मा स्व. राजा महेन्द्र जुम्ला गएका बेला हिँडेर मुगुको राराताल अवलोकन गर्नुभएको रहेछ । त्यस पछि मात्रै यो तलाउ रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनिन पुगेको रहेछ। त्यसपछि २०३२ सालमा यो क्षेत्र लाई निकुन्ज (रारा रास्ट्रिय निकुन्ज) स्थापना गरि सिमसार क्षेत्र घोषणा गरिएको रहेछ । त्यसताका रारातालको किनार मा छाप्रु र रारा नामक दुइ गाउँलाई नेपालगंज मा पुनर्बास गराइएको कुरा पनि जानकारी भयो । त्यसको करिब तीन वर्ष पछि नेपालीसेनाको दुर्गा भंजन गुल्मले निकुन्जको रेखदेख हालसम्म गर्दै आएको छ । यो ताल राजा महेन्द्रको माध्यमबाट चिनिएकाले कहिँ,कतै महेन्द्र तालको नामले पनि मानिसहरुले चिन्ने रहेछन।
तालहरुकी रानी मानिने राराताल मुलुककै ठुलो र गहिरो तालको रुपमा सुपरिचित छ । कलकल र निश्चल पानीले भरिभराउ तलाउ करिब १६७ मिटर गहिरो छ । २९९० को उचाईमा अवस्थित यो तलाउले दिन मा ३ देखि ४ पटक पानीको रंग परिवर्तन गरेको पनि देख्न सकिन्छ। विश्वमै लोप हुनलागेको असला माछा पनि यो तालमा पाउने कुरा हामीलाई नेपाली सेनाका एक जवानले अवगत गराउनु भयो।
निकुञ्जका एक पदाधिकारीका अनुसार एकल मुहान नभै ३०-३५ जति स-साना पहाडी खोलानाला र जमिन मुनिबाट आएको पानी नै ताल को पानी प्रमुख स्रोत रहेको स्थानीयले विश्वास गर्दा रहेछन। रारातालको निकास को रुपमा निजार खोला छ, जुन खोला बग्दै जाँदा खत्याडखोलाको नामले चिनिने रहेछ।
पहिलो दिन : (राजधानी -मुग्लिङ्ग -चितवन हुँदै बुटवल )
पहिलो दिनको बिहानको खाजानास्ता लिएर हामी बुटवल सम्मको यात्राको लागि बस चढ्यौँ । भ्रमणको पहिलो दिन भएर होला हामी सबैमाझ उत्सुकता देखिन्थ्यो । केहि घण्टापछि गुरुजीले मुग्लिङ्गमा खानाको लागि गाडी रोक्नुभयो, खाना खाएर अगाडी बढ्दै गर्दा हामी मुग्लिङ्ग-चितवन सडकखण्ड मर्मत एबम बिस्तार कार्य हुदै गरेकाले एकछिन जाममा पनि परियो र त्यो दिन तालिका बमोजिम बुटवल मा बस्यौँ ।
दोस्रो दिन : (बुटवल-जितपुर -दाङ्ग-कोहलपुर -छिन्चु हुँदै सुर्खेत)
भोलिपल्ट सबेरै सबैजना उठेर बिहानीको नास्ता लिई सुर्खेत सम्मको यात्राको निम्ति तयारी गरेर हामी बुटवलबाट पश्चिम तर्फको नेपालगंज रोड हुँदै अगाडी लाग्यौँ । अगाडी बढ्दै गर्दा हामीले लमही बजारमा त्यो दिनको खाना खायौ । त्यसपछि एकैपटक कोहलपुरमा गाडी रोकेर हल्का नास्ता पानि गरेर अगाडी बढ्दै गर्दा “सुर्खेत ८६ किलो मिटर” लेखेको बोर्ड सडक छेउमा देखा पर्यो । करिब २ घण्टा पछि हामी सुर्खेत पुग्यौँ । होटल बुक गरेको हुनाले झोलाहरु राखेर हामी त्यस ठाउँको निकै नै प्रसिद्ध ताल बुलबुले तालको अवलोकन गर्न तर्फ लाग्यौ । बुलबुल गर्दै जमिनबाट उम्रिएको पानिको मूलले गर्दा सो नाम रहन गएको बुझियो । फर्कदा हामीले मध्यपश्चिम विश्वविद्यालय अवलोकन गरी हामी साँझ होटेल फर्कियौ।
तेस्रो दिन : (सुर्खेत-गुराँसे-पालेटाडा-साईखोला-सेरिघाट हुँदै मान्म, कालिकोट )
हाम्रो तेस्रो दिनको योजना तालिका सुर्खेत हुँदै कालिकोट रहेको थियो, सोहि अनुसार बिहान ढिला नगरी हामी दैलेख हुँदै अगाडी बढ्यौँ । बिस्तारै अघी बढ्दै गर्दा हामीले गुराँसे वन देख्यौ र स्थानिया बालबच्चा संग काफल किनेर पनि चाख्यौँ । कर्णाली नदीको तिरैतिर भएर हामी दैलेखको पालटाडा नाम गरेको ठाउँमा पुग्यौँ र खाना खायौँ। कर्णालीको वारि दैलेख पारि अछाम भएर हामी अगाडी बढ्दै गर्दा बाटोमा शेरीघाट नामक सानो बजार देखा पर्यो। त्यस ठाउँबाट हुम्ला जोड्ने सडक निर्माण कार्य जारि थियो ।
शेरीघाट प्रहरी चौकीमा हाम्रो गाडी नम्बर दर्ता गराएर हामी त्यहाँबाट करिब एक घण्टा उकालो लागेपछि कालिकोट को सदरमुकाम मान्म पुग्यौ। एकछिन मान्म बजार डुलेर हामी त्यो रात त्यही होटल मा बितायौ।
चौथो दिन: (मान्म-ताडीबजार-सेरबाड़ाबजार-नाग्म-गोठिजिउला-सिंजा-पिना-सल्लेरी हुँदै हुटु, रारा)
कर्णालीको कठिन सडकका कारणले गर्दा त्यहाँ रात्रि सवारी सेवा निषेध गरिएको रहेछ । कतिपय ठाउँको बाटो देख्दा त्यो नियम उचित पनि लाग्यो । चौथो दिन हाम्रो उद्देश्य राराताल नै पुग्ने भएकाले सबेरै हामी मान्मबाट अगाडी लाग्यौँ । आज भन्दा करिब १० वर्ष पहिला कर्णालीको सडक नेपाली सेनाले विस्तार गरेको र कालोपत्रे गरेको करिब ३-४ वर्ष पुगेको कुरा कालिकोट को होटेल वाला साहुबाट जानकारी लियौँ । भिरालो र साँगुरो चट्टान फोरेर निर्माण गरिएको सडक हुँदै हामी नाग्म भन्ने ठाउँ पुगेर खाना खायौँ र एकछिन बिश्राम गरेर जुम्लाको सिंजा उपत्यका तर्फ लाग्यौँ ।
यात्रा निरन्तर अघी बढ्दै जाँदा जुम्लामा खस भाषाको उद्गमस्थल, (सिंजा उपत्यका) देख्ने अवशर पनि प्राप्त भयो । नाग्मबाट अगाडी कच्ची सडक भएकाले बसले उफार्दै मुगुको पिना भन्ने ठाउँ बाट अगाडी सल्लेरी सम्म पुर्यायो जहाँबाट सवारी निषेध गरिएको रहेछ। सल्लेरीबाट मिरिचौर हुँदै करिब २ घण्टा पैदल (रारा किनार हुदैँ) हिँडेर हामी त्यो रात राराताल पुग्यौँ। बस्ने बासस्थान को पहिले नै जोहो भएकोले हामीलाई केही सहज भयो । थाकेका कारणले खाना खाएर हामी सबै आराम गर्न तर्फ लाग्यौँ।
पाँचौ दिन : (निकुन्ज परिसर-डुंगासयर-मुर्माटप घुमघाम )
अघिल्लो रात बाटोबाट आउँदै गर्दा झिसमिसेमा देखेको ताल, बिहान कतिबेला उज्यालो होला र मन फूर्ने गरि हेरौँला भन्ने सोचमा हामी बिहानै उठ्यौ । वाह! रारा हो कि अप्सरा छुट्याउनै मुस्किल। प्रकृतिको अनुपम उपहार, राराताल आफ्नो अगाडी देख्दा हामी चकित पर्यौँ। मुलुककै ठुलो र गहिरो ताल, चौतर्फी पहाडको काखमा फिँजीएर बसेको देख्दा साँच्चिकै जोकोहिको पनि स्वर्गको झल्को मेटिने रहेछ। वरिपरि वनजंगल, बीचमा रारा लम्पसार परेको देख्दा ४-५ दिनको थकाई नै एक्कासी विलिन भएको महसुस भयो ।
मौसम अलि चिसोचिसो भएकाले न्यानो लुगा लगाएर हामी निकुन्ज परिसर हुँदै तलाउ किनारमा पुग्यौँ र त्यहाँबाट सुर्योदय अवलोकन गर्यौँ । ताल किनारमा आन्तरिक पर्यटक बढी देखिन्थे । धेरैजसो तस्बिर लिन र कतिपय फोटोमा कैद हुनमा ब्यस्त थिए । लगत्तै हामी ढिला नगरी डुंगा सयर गर्न तर्फ लाग्यौँ। दिन ढल्किदै जाँदा हावाको कारणले डुंगा सेवा बन्द हुने कुरा हामीलाई त्यहाँको उपभोक्ता समितिबाट जानकारी मिल्यो।
डुंगा सयर गरेर, तस्बिर लिएपछि हामी फेरी हाम्रो होटेल फर्कियौँ । बिहानीको अडीलो नास्ता कोदोको रोटी र तरकारी खाएर मुर्मा टप जाने तयारीमा हामी लाग्यौँ । खाना खाएर मुर्माटप जान अलि ढिला हुनसक्ने भएकाले होटेलवाला दाजुले दिएको सल्लाह बमोजिम हामी नास्ता लिना साथ् उकालो चढ्यौँ । माथि पसल र त्यति गाउँ बस्ती नभएकाले हामीले केहि खानेकुरा सहित एक-एक बोतल पानी बोकेर बिस्तारै मुर्मा तर्फ अगाडी बढ्यौँ । उकालो लाग्दै गर्दा रुप फेर्न माहिर रारातालको भिन्न रंगहरु पनि देख्न सकिन्थ्यो भने किनारमा घोडाहरु घासे मैदानमा चर्दै गरेको मनमोहक दृश्यले मनै आनन्दित गराइरहेको थियो ।
उकालो चढ्दै गर्दा गाह्रो हुँदै गएपनि हामी मुर्माबाट देखिने तलाउको पुरा दृश्य सम्झेर निकै उत्साहित हुँदै अगाडी लाग्यौँ । बाटोमा ३-४ किसिमका गुराँस, रातोसेतो गुराँस (चिमालो) तथा अन्य वनस्पति जस्तै लेकाली सल्लो ,धुपी, देवार देखिन्थे। निकुन्जमा विभिन्न वन्यजन्तु तथा चराचुरुंगी (रेड पाण्डा-हाब्रे ,स्याल, भालु, डाँफे, चरी बाघ) पनि रहेको कुरा स्थानिय बाट जान्नमा आयो।
करीब ३-४ घण्टा उकालो पैदल यात्रा पछि हामि मुर्मा टप (३५०० मिटर) पुग्यौँ। त्यो उचाईबाट तालको पुरा रुप देख्न सकिन्थ्यो भने छिमेकका अरु जिल्ला (हुम्ला, जुम्ला, कालिकोट, बाजुरा) साथै चीन(तिब्बत)को केही भू-भाग पनि देखिने रहेछ। वरीपरि वन जंगल र पहाडको फेदीमा निलो मसी पोखिए जस्तै देखिने रारा साँच्चिकै कुनै स्वर्ग कि अप्सरा भन्दा कम थिइनन् । त्यसठाउँबाट देखिने राराको मनमोहक दृश्यले जो कोइ लाई पनि सजिलै मोहित पार्न सक्थ्यो । लाग्थ्यो स्वर्ग नै नभए पनि हाम्रो मातृभूमि स्वर्गकै एउटा अंश पक्कै हो।
केहिबेर टपबाट दृश्य अवलोकन र बिश्राम पछि , हामी फेरी करिब एक डेढ घण्टा ओरालो झर्यौँ र होटल फर्कियौँ । कतिपय सहपाठी मित्रहरु टेण्टमा सुत्ने तयारीमा हुनुहुन्थ्यो भने बर्षा भएकाले हामी चाहिँ होटल भित्र नै सुत्यौँ ।
छैटौ दिन : (हुटु-पिना-सिंजा-नाग्म-तातोपानी-खलंगा हुँदै जुम्ला )
सदाजसै नै बिहानै उठेर चिया नास्ता गरि हुटु मुगुलाइ बिदाई गरेर हामी हाम्रो गन्तब्यबाट बिस्तारै टाढा हुँदै गयौँ । सल्लेरी, जहाँ हाम्रो गाडी राखेका थियौ त्यहाँ पुगेर त्यो दिनको तालिका बमोजिम जुम्लाको लागि यात्रा पुन सुचारु गर्यौँ । जाँदै गर्दा जुम्ला भन्दा करिब १४-१५ किलोमिटर वर तातोपानी रहेछ । त्यहाँ स्नान गरेर त्यो दिन कर्णाली अञ्चलको सदरमुकाम जुम्ला मै बास बस्यौँ । ३-४ दिनको लगातार यात्राले थकित भएपनि जुम्ला घुमघामले हामीलाई थप उर्जा प्रदान गरेको भान हुदैँ थियो । कर्णालीको धेरै जसो भु-भाग अलि भिरालो र चट्टानले बनेको देख्दै आएका हामीलाई उपत्यका देख्दा निकै आनन्द आयो।
तुलनात्मक रुपमा कर्णालीका अरु जिल्लाभन्दा समथर, खेतीयोग्य, सम्भावना बोकेको, तीव्र विकास र शहरीकरण हुँदै गरेको जुम्ला हामीले सुनेको र कल्पना गरेको भन्दा बिल्कुलै पृथक रहेछ । स्याउ खेतीको लागी निकै नै प्रसिद्ध यो ठाउँमा साना-साना रूखहरु खेतबारीको बिच-बिचमा देखिन्थे । स्थानियका अनुसार संसारकै अग्लो स्थानमा धानखेति हुने ठाउँ छुम्चौर पनि जुम्ला मै पर्दोरहेछ । हामी बसेको होटल साहुले त्यहाँको लोकल रातो चामलको खाना खुवाउनु भएको थियो, नयाँ अनुभव र मिठो खानाको लागि साहूजी लाई धन्यबाद । संयोगवस, हामी महानायक राजेश हमाल ज्यू बसेको कोठामा बस्न पुगेछौ, एकछिन जुम्ला को त्यो कुराले पनि यात्रामा मिठास थप्यो। 😊
सातौ दिन: (जुम्ला -नाग्म हुँदै कालिकोट)
त्यो दिन जुम्लाबाट कालिकोट आएर बस्ने पुर्व योजना भएकाले हामी आनन्दले एकछिन बिहानीपख जुम्लाको मन्दिर, गुम्बा, थिङ्के नाम गरेका ठाउँ घुमेर कोसेली सहित बस चढ्यौँ र त्यो दिन फेरी कालिकोट सदरमुकाम, मान्म मै बसियो।
आठौ दिन : कालिकोट(दैलेख-सुर्खेत-कोहलपुर हुँदै दाङ्ग को लमही)
आठौ दिन हामी फर्कने क्रममा साँझको निम्ति दाङ्ग को लमही बजारनिर होटल बुक गरेको हुनाले सदा झैँ सबेरै गाडी चढ्यौँ । कर्णाली घुमघाम सबैजनाको पहिलो नै भएकाले गर्दा कर्णालीमा देखिएका केहि फरक भू-भाग, निश्चल प्रकृति, नम्र मानिसहरु, साथै उनीहरुको पहिरन (ढाका टोपी र कोट), केहि भिन्न बोलीकोको लवज, युद्धकालको स्मरण दिलाउने परिवेश, संरचना, नेपाली सेना र सडक विभागको भूमिकालाई प्रमुख बिषय बनाएर गफिंदै यात्रा अगाडि बढ्दै गयो । कहिले तिला नदिको तिर त कहिले कर्णालीको तिरसगँ लुकामारी खेल्दै गुरुजीले बस सुर्खेत हुँदै अगाडी बढाउनु भयो ।
नवौ दिन: (लमही-बुटवल-चितवन-मुग्लिङ्ग-मलेखु-राजधानी हुँदै आ-आफ्नो निवास )
त्यो दिन हाम्रो यात्राको अन्तिम दिन थियो । त्यसैले हामी बिहानै नास्ता पानि सकेर लमहीको होटलबाट काठमाण्डौको लागी तयार भएर बस चढ्यौ। तराई भएर होला केही गर्मिको अनुभूति गर्दै, चितवन(मुग्लिङ्ग सडकको एकछिन जाममा परि त्यस दिन राती हामि आ-आफ्नो घर,डेरा तर्फ़ लाग्यौँ ।
निष्कर्ष :
व्यक्तिगत रुपमा लेखक तथा विश्लेषकको हैसियतले म पाठक वर्गमा के अनुरोध गर्न चाहन्छु भने, सबैलै सम्भव भएसम्म एकपटक जानुहोस्, हेर्नुहोस् , बुझ्नुहोस् र लेख्नु पनि होस् । यो भ्रमण गरेपछि मैले नयाँ ठाउँ मात्रै होइन कर्णालीको विकटता , जीवनशैली, दैनिकी, बोलिको लवज, खेतीपाती, वन-वनस्पतिको बारेमा जान्न, देख्न पाएँ । निकै खुसी पनि लाग्यो भने अर्को पाटोमा संकटकाल ताका र सडक नपुग्दैको अवस्थाको समस्या र जटिलता सम्झेर दुख पनि लाग्यो ।
अन्ततः हाम्रो यस भ्रमण दिनुभई भौतिक सुबिधा प्रदान गरीदिनुभएकोमा म काठमाण्डौ विश्वविद्यालय लाई बिशेष धन्यवाद दिन चाहन्छु । साथै हाम्रो गुरुबा, गुरुजी, खलासी भाई, नेपाली सेना , सडक विभाग, नेपाल प्रहरी लगायत सम्पूर्ण सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु जसले हाम्रो यात्रालाई सफल पार्न प्रत्यक्ष एवं अप्रत्यक्ष्य भूमिका निर्वाह गर्दिनु भएको छ ।
धन्यवाद !
रारा यात्रा क्रमका अन्य केही तस्बिरहरु:
जुम्ला बजार , खलंगा।
[author] [author_image timthumb=’on’]http://kanchanrai.com.np/authors/khimbahadurchhetri.jpg[/author_image] [author_info]
मेरो परिचय दिनुपर्दा म(खिम बहादुर छेत्री ) लेखक, विश्लेषक भन्दा पनि सर्बप्रथम त म पाठक हो, अर्को पाटोमा भन्नु पर्दा घुमन्ते हो, सामाजिक र मिलनसार व्यक्ति पनि हो।
धेरै-थोरै राजनीतिमा पनि चासो राख्ने गर्छु साथै आफ्नो मातृभूमि को निकै माया लाग्छ । मरुन्जेल पुरै नेपाल घुम्ने हो कुना-कुना । गितार भने पछि हुरुक्कै हुन्छु, संगीत प्रति बिशेष रुचि छ।
[/author_info] [/author]
राराको यात्रा भिडियो मा यहाँ हेर्न सक्नु हुन्छ :